कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने भएको छ। २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्नेगरी निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन्।

यससँगै विशेष महाधिवेशनको आवस्यकता नरहेको उनको भनाइ छ। १५औं महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता परेन। मूल कुरा अधिवेशन समयमा हुनुपर्‍यो, उनले भने।

सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिकामा महाधिवेशन गर्ने सहमति जुटेको हो।

कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ। महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको थियो।

विशेष महाधिवेशन पक्षधर नेताहरूको भावना समेत सम्बोधन हुनेगरि पुसमा महाधिवेशन गर्ने सहमति बनेको हो।

वर्तमान कार्यसमितिको म्याद मंसिर मसान्तसम्म थियो। कांग्रेस केन्द्रीय समितिले बहुमतबाट कार्यसमितिको म्याद एक वर्षसम्म थप्न सक्ने व्यवस्था छ। तर, केन्द्रीय समितिले दुई महिना थप गर्ने निर्णय गर्दै पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *