करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता

काबुल । इरानले आवाश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म देश छोड्न आदेश दिएपछि जुन महिनाको सुरुदेखि करिब चार लाख ५० हजार अफगानीहरू इरानबाट फर्केको संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सी (आइओएम) ले सोमबार बताएको छ ।

गत मे महिनाको अन्त्यमा, इरानले जुलाई ६ सम्ममा कागजातविहीन अफगानहरूले देश छोड्नुपर्ने बताएको थियो ।

जुनको मध्यदेखि सीमा पार गर्ने मानिसहरूको सङ्ख्या बढेको र केही दिनहरूमा पश्चिमी हेरात प्रान्तको इस्लाम काला सीमाबाट करिब ४० हजार मानिसहरू स्वदेश भित्रिएको संयुक्त राष्ट्रसङ्घीय निकायले बताएका छन् ।

जुन १ देखि जुलाई ५ सम्म चार लाख ४९ हजार २१८ अफगानहरू इरानबाट फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्ठनका प्रवक्तालाई लक्षित गर्दै एएफपीले जनाएको छ ।

 संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी समूह र तालिबान अधिकारीहरूले फर्कनेहरूलाई सहयोग गर्न थप कोषको आह्वान गर्दै विदेशी सहायता कटौतीले सङ्कट व्यवस्थापनमा असर पारेको जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घले यो आगमनले गरिबी, बेरोजगारी र जलवायु परिवर्तनसँग सम्बन्धित समस्यासँग जुझिरहेको देशलाई अस्थिर बनाउन सक्ने चेतावनी दिँदै सम्बन्धित राष्ट्रहरूलाई अफगानहरूलाई जबरजस्ती फिर्ता नगर्न आग्रह गरेको छ ।

अफगानहरूलाई फिर्ता गर्न बाध्य पार्नु वा दबाब दिनुले यस क्षेत्रमा थप अस्थिरता ल्याउनुका साथै युरोपतर्फ अघि बढ्ने जोखिम रहेको संयुक्त राष्ट्रसङ्घको शरणार्थी एजेन्सी युएनएचसीआरले विज्ञप्तिमार्फत जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *