पाकिस्तानको कराँचीमा तियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
शनिबार अपराह्न भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् ।
कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा ट तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो । उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन् ।
कराँचीका मेयर ब्यारिस्टर मुर्तजा वहाबले करिब २० जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरूको उद्धार कार्य जारी रहेको बताएका छन् ।
उनले भग्नावशेषबाट १९ जनालाई उद्धार गरिएको पुष्टि गरे ।
आठ जनाको घटनास्थलमै र एकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मेयर बहाबले जानकारी दिए । घाइतेमध्ये ६ जना उपचारपछि डिस्चार्ज भएका छन् । तीन जना घाइतेको एसएमबीबी ट्रमा सेन्टरमा उपचार भइरहेको एआरवाई न्यूजले जनाएको छ ।
मेयर बहाबका अनुसार उद्धार कार्य अझै जारी छ । टोलीहरूले अरू कोही पनि भग्नावशेषमा नफसेको सुनिश्चित नहुँदासम्म काम गरिरहनेछन् ।
