काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश सरकारलाई जिम्मा दिन प्रस्ताव गरेका छन् । आज (शनिबार) शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकलाई सम्बोधन गर्दैै उनले एसईई प्रदेशलाई जिम्मा लगाउने प्रस्ताव गरेका हुन् ।
‘एसईई प्रदेश सरकारलाई नै जिम्मा लगाऔं । प्रदेशलाई जिम्मा लगाएपछि त्यसमा शिक्षा इकाइले पनि सहयोग गर्छ,’– उनले भने ।
शिक्षासम्बन्धी अधिकार स्थानीय तहकै रहेको उनले बताए । अधिकार निरङ्कुश र मनलाग्दी ढंगले प्रयोग गर्न नपाओस् भन्न शिक्षकहरुको योग्यता शिक्षक सेवा आयोगले तोक्ने गरेको पनि उनले बताए ।
उनले निजी विद्यालय शैक्षिक गुठी र कम्पनीमै स्थापना र सञ्चालन गर्ने, निजीलाई निषेध गरेर जान नसकिने बताए । निजी विद्यालयलाई पनि कडाइका साथ नियमन र गुठीमा जानेलाई प्रेरित गर्नुपर्ने उनले धारणा व्यक्त गरे ।