काठमाडौं । नेकपा (एकीकृत समाजवादी)बाट विद्रोह गरेका रामकुमारी झाँक्री, किसान श्रेष्ठको समूहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ ।
झाँक्री र निवर्तमान प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ बिहीबार भक्तपुरस्थित ओली निवास पुगेका हुन्।
एमाले नेता महेश बस्नेतका अनुसार उनीहरूले एमालेमा फर्किने तयारी गरेका छन्। नेता बस्नेतका अनुसार एमालेले कात्तिक २४ गते घर फर्किने कार्यक्रम आयोजना गर्दैछ। राष्ट्रियसभा गृहमा आयोजना हुने उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीबाट विद्रोह गरेका नेताहरू एमालेमा फर्किने बताइएको छ।
नेता बस्नेतका अनुसार ५० जनाभन्दा बढी नेताहरू ओलीलाई भेट्न गुण्डु पुगेका थिए। उक्त भेटघाटमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी थिए।
