काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनताको बहुदलीय जनवादका प्रणेता तथा तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३२औँ स्मृति दिवस शनिबार देशभर विविध कार्यक्रम गरी मनाउने भएको छ।
एमालेले स्मृति दिवसका लागि सबै प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्दै स्मृतिसभा र अन्य सिर्जनात्मक कार्यक्रम गर्न निर्देशन दिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए।
केन्द्रीयस्तरमा बल्खुको मदन नगरमा बिहान ८ बजे स्मृति कार्यक्रम हुने भएको छ। कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र मदन–आश्रित परिवारका सदस्यलाई निमन्त्रणा गरिएको अधिकारीले जानकारी दिए।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले स्मृति दिवसलाई ऐतिहासिक बनाउन तयारी गर्न निर्देशन दिएका छन्। तत्कालीन महासचिव भण्डारी र सङ्गठन प्रमुख आश्रितको २०५० जेठ ३ गते दासढुङ्गामा गाडी दुर्घटनामा निधन भएको थियो।