काठमाडौं । नेकपा (एमाले) ले सरकारको काम कारबाही सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । आज (बुधबार) बसेको पार्टी सचिवालय बैठकमा सरकारको काम कारबाहीको बारेमा समीक्षा भएको थियो । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको निर्णय सुनाउँदै सरकारको कामकारबाहीलाई सन्तोषजनक रुपमा लिइएको बताएका हुन् ।
‘निश्चित उद्देश्यका साथ, खासगरी मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई गति दिने र जनतामा आशा र भरोसा जगाउने संकल्पका साथ दुईवटा ठूला पार्टीहरुको मुख्य सहभागितामा अरु पार्टीहरुसमेत सम्मिलित भएर गत वर्ष असार ३१ गते यो सरकार बनेको थियो । सरकारले करिब एक वर्ष पूरा गर्न लागेको छ । पार्टीले यो एक वर्षको समग्र अवस्थालाई सन्तोषजनक रुपमा रहेको निष्कर्ष निकालेको छ । सबैभन्दा ठूलो कुरा मुलुकमा राजनीतिक स्थायित्वको आधार बलियो भएको छ,’– उनले भने ।
साथै, मुलुकको अर्थतन्त्रले पनि विस्तारै लय समात्दै गएको एमालेको निष्कर्ष रहेको छ । गत वर्ष अर्को सरकारले बताएको बजेट कार्यान्वयन गर्दा सोचेजस्तो परिणाम आउन नसकेको नेता ज्ञवालीले बताए । उनले समग्रमा देशले सही बाटो लिएको र सरकारको कामकारबाही सन्तोषजनक रहेको बताए ।
