उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण

काठमाडौं । सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।

त्यस्तै, अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपांग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ । त्यस्तै, जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

बैठकले सहसचिव राजेन्द्रकुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ भने आर्थिक कार्यविधि तथा वित्तीय उतरदायित्व दोस्रो संशोधन नियमावली स्वीकृत गरिएको प्रवक्ता खरेलले जानकारी दिए ।

मन्त्रिपरिषद्ले विभिन्न १० जिल्लाका ९४ हजार ५२७ गरिब परिवारको सूची स्वीकृत गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *