भक्तपुर| ईट्टा भट्टामा बुवासँगै श्रम गर्दै पनि उत्कृष्ट नतिजा ल्याउन सफल भक्तपुर सुडालकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक तथा उद्यमी मीनबहादुर गुरुङले आफ्नो कार्यकक्षमै बोलाएर सम्मान गरेका छन्।
गोमाले हालैको एसईई परीक्षामा ४.०० GPA ल्याएर उदाहरणीय सफलता प्राप्त गरेकी हुन्। उनको कडा मेहनत, लगनशीलता र सपनाप्रतिको समर्पणले सबैलाई प्रेरणा दिएको छ। उक्त उपलब्धिको कदर गर्दै गुरुङले गोमालाई एक थान ल्यापटप र उच्च शिक्षाको प्रारम्भिक यात्राका लागि नगद १ लाख रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरेका छन्।
सम्मान कार्यक्रममा गोमासँगै उनका पिता पनि सहभागी थिए। कार्यक्रममा गुरुङले गोमाको उज्ज्वल भविष्यको शुभकामना दिँदै उनले भविष्यमा डाक्टर बन्ने सपना साकार पार्न आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“म यो मेहनती छोरीको सपना डाक्टर बन्ने चाहनालाई पूर्ण समर्थन गर्छु। मेरो तर्फबाट यति मात्र होइन, आवश्यक सहयोग भविष्यमा पनि निरन्तर रहनेछ,” गुरुङले भने।
यस प्रेरणादायी घटनाले शिक्षा र श्रमको सन्देश फैलाउने मात्र होइन, कष्टकर परिस्थितिमा पनि उत्कृष्ट नतिजा सम्भव छ भन्ने सन्देश दिएको छ।
