इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको आक्रमणमा पाँच सर्वसाधारण र तीन आक्रमणकारीको मृत्यु

इरानको दक्षिणपूर्वी सिस्तान-बलोचिस्तान प्रान्तको राजधानी जाहेदानमा शनिबार न्यायालय भवनमा भएको सशस्त्र आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच सर्वसाधारण र तीन आक्रमणकारी रहेका छन् ।

इरानको सरकारी समाचार संस्थाहरूका अनुसार, आक्रमणकारीहरूले पाहुनाका रूपमा भेष बदली न्यायालय भवनभित्र पसेका थिए। उनीहरूले भवनभित्र हातहतियार चलाउनुका साथै विस्फोटक पदार्थ पनि प्रयोग गरेका थिए । आक्रमणमा एक वर्षको बालक र उनकी आमाको ज्यान गएको छ ।

सैन्य तथा सुरक्षासम्बन्धी निकायहरूका अनुसार, उक्त आक्रमणमा १३ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेकाले मृत्यु संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

सैन्य संगठन इस्लामिक क्रान्तिकारी सुरक्षा बलका अनुसार, आक्रमणमा संलग्न तीन जना सशस्त्र व्यक्ति सुरक्षाकर्मीसँगको भिडन्तमा मारिएका छन् ।

यो घटनाको जिम्मेवारी पाकिस्तानमा आधारित र इरानमा पनि सक्रिय रहेको बलोच सशस्त्र समूह ‘न्यायको सेना’ (जैश अल अदल) ले लिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *