अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अजरबैजान र अर्मेनियाका नेतालाई शुक्रबार स्वागत गर्ने भएका छन् ।
अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यान र अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ ह्वाइट हाउसमा हुने ‘शान्ति सम्झौता हस्ताक्षर समारोह’मा सहभागी हुने छन् ।
कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको घोषणा गरेको एक दिनपछि अमेरिकाले पछिल्लो कूटनीतिक पहलबारे जानकारी दिएको हो ।
ट्रम्पले पटक-पटक आफ्नो कूटनीतिक प्रयासको प्रशंसा गर्दै आफू यो पुरस्कारको हकदार भएको बताउँदै आएका छन् भने जारी रुस-युक्रेन युद्ध र इजरायलको आक्रमणका क्रममा गाजामा देखिएको भोकमरीप्रति पनि निराशा व्यक्त गरेका छन् ।
अर्मेनिया र अजरबैजानका लागि पनि शान्ति कायम हुन सकेको छैन । दशकौँसम्म शत्रु बनेका दुई पूर्व सोभियत गणतन्त्रले विवादित काराबाख क्षेत्रलाई लिएर दुई पटक युद्ध गरे, जसलाई अजरबैजानले सन् २०२३ को ‘संक्षिप्त तर निर्णायक’ आक्रमणमा अर्मेनियाली सेनाबाट फिर्ता लिएको थियो ।
गत महिना संयुक्त अरब इमिरेट्स (युएई) लगायत देशले दुई देशबीचको शान्तिपूर्ण समाधानका लागि वार्ता गरेका थिए, तर कुनै सफलता हासिल हुन सकेको छैन ।
ट्रम्पले लेखेका छन्, ‘यी दुई राष्ट्रबीच वर्षौंदेखि युद्ध चलिरहेको छ, जसका कारण हजारौँ मानिसको मृत्यु भएको छ ।’
