अमेरिका र चीनले एकअर्कामाथि कर नलगाउने सम्झौताको म्याद ९० दिनको लागि बढाएका छन् । विद्यमान सम्झौताको अवधि सकिन लागेको बेला यो निर्णय गरिएको बीबीसीले जनाएको छ ।
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै गत मे महिनामा भएको सम्झौतालाई कायम राखेका हुन् । त्यतिबेला दुवै देशले एकअर्काको सामानमा लगाइएको कर अस्थायी रूपमा स्थगित गरेका थिए । अमेरिकाले चेतावनी दिएको थियो कि यदि सम्झौताको म्याद थपिएन भने मंगलबारदेखि उच्च कर लागू गरिनेछ।
गत महिना भएको वार्तामा चीनले दुवै पक्षले सम्झौता कायम राख्न प्रयास गर्ने बताएको थियो । अमेरिकी अधिकारीहरूले त्यतिबेला ट्रम्पको अन्तिम स्वीकृतिको पर्खाइमा रहेको बताएका थिए ।
अप्रिलमा व्यापारसम्बन्धी तनाव चरम सीमामा पुगे थियो । ट्रम्पले विश्वका धेरै देशका सामानहरूमा कर लगाउने घोषणा गरेका थिए । चीनमा पनि उच्च कर लगाइएको थियो, जसको प्रतिक्रियामा चीनले अमेरिकी सामानहरूमा कर बढायो ।
मे महिनामा भएको सम्झौताअन्तर्गत, वर्षको शुरूआतको तुलनामा अमेरिका प्रवेश गर्ने चिनियाँ सामानहरूमा थप ३० प्रतिशत भन्सार शुल्क लगाइएको थियो । साथै, चीनमा अमेरिकी सामानहरूमा नयाँ १० प्रतिशत भन्सार शुल्क लगाइएको थियो ।
