प्रकाश तिवारी, वीरगञ्ज । मान्छेलाई जिउँदै इट्टा भट्टामा लजाएर हत्या गरेको आरोप लागेका आफ्ताब अलालमलाई उच्च अदालत जनकपुर वीरगञ्ज इजलसबाट सफाइ दिने न्यायाधीश खुशीप्रसाद थारुलाई कालोमोसो दलिएको छ । बिहीबार उच्च अदालतभित्र नेकपा बहुमतका कार्यकर्ता बताउने एक समूहले थारुसहितका अदालतका कर्मचारीलाई दुव्यर्वहार गर्दै मोसो दलेका हुन् ।
मोसो दल्दै नेकपा बहुमतका कार्यकर्ताले भने, ‘नेकपा बहुमत जिन्दावाद, जनताको कर खाने जनताको विरुद्धमा फैसला गर्न पाइँदैन ।’ पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले घटनाबारे थाहा पाएको जानकारी दिए । उनले आफूहरुले पनि घटनाबारे थाहा पाई एउटा बैठक छाडेर त्यसबारे बुझिरहेको जनाए ।
जेठ १४ गते न्यायाधीश थारु र अर्का न्यायाधीश अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको थियो । रौतहट जिल्ला अदालतका तत्कालीन न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान कसुरमा उनलाई दोषी ठहर गरेको थियो । त्यसलाई उट्याउँदै थारु र महर्जनको इजलासले सफाइ दिएपछि आमनागरिकमा असन्तुष्टि पैदा भएको थियो ।
संविधान सभा निर्वाचनताका २०६४ चैत २७ गते रौतहटको साविक राजपुर फरहदवा–४ मा रहेको कांग्रेस उम्मेदवार मोहम्मद अफताब आलमको घरमा बम विस्फोट भएको थियो । विष्फोटमा परी घाइते भएकालाई इट्टा भट्टामा लगेर जलाइएको दाबी गरिएको छ ।