महोत्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृति र मौसमअनुकूल हुनेगरी खेती गरिनुपर्ने बताएका छन्।
उनले आज लालगढमा आयोजित दोस्रो आँप गोष्ठीलाई सम्बोधन गर्दै यसपालीको लामो खडेरीबाट चेत्दै अब परम्परागत ढाँचाभन्दा जेजस्तो अवस्था बन्ने र त्यसको अनुकूलन हुनेगरी खेती गरिनुपर्ने बताए।
‘हाम्रो मधेशको मुख्यबाली धान हो, तर यसपाली लामो खडेरीले अपेक्षित खेती गरिने अवस्था रहेन‘, सिंहले भने, ‘त्यसैले अब खडेरीअनुकूल हुने गरी खेती गर्न जान्नु पर्दछ।‘ देशभरिमा आँपको उत्पादनमा मधेशको ७० प्रतिशत योगदान रहेको तथ्याङ्कले देखाएको चर्चा गर्दै उनले पूर्वपश्चिम लोकमार्ग उत्तरका बाँझा पाखामा आँप र अन्य फलफूल लगाउन सकिने बताए।
यसतर्फ किसान र स्थानीय तहको प्रयत्नमा प्रदेश सरकारको साथ रहने उनको प्रतिबद्धता थियो। पानी नपर्दा धान लगाउन नपाइने सत्य हामी सबैलाई थाहा हुँदाहुँदै यसको विकल्प सोच्न ढिलाइ गर्न नहुने उनको भनाइ छ। चुरे काछका बाँझा चउर, नदी किनारका उकास जग्गा रुखबिरुवाले हराभरा बनाउन सके वातावरण सन्तुलनमा पनि योगदान हुने सिंहले बताए।
मधेशलाई आँपको ‘हब’ बनाउन विशेष पहलकदमी बढाउनु पर्ने उनको भनाइ छ। ‘अहिले नेपालमा उत्पादन हुने आँपमा मधेशको ७० प्रतिशत योगदान छ, अब आँप विदेशमा निर्यात गर्नेगरी उन्नत प्रविधिबाट खेती बढाउनु पर्छ‘, सिंहले भने।
कार्यक्रममा मधेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा उमेश दाहालले आँपको वैज्ञानिक प्रविधिबाट खेती गरिए यसबाट आर्थिक उपार्जनमा महत्वपूर्ण योगदान हुने बताए। यसैगरी फलफूल विज्ञ डा शान्ता कार्कीले विगतमा आँपको उत्पादनको अवस्था र यो खेतीमा अपनाउनुपर्ने नविनतम प्रविधिका बारे चर्चा गरे।
यसैगरी राष्ट्रिय फलफूल विकास केन्द्र किर्तिपुरका प्रमुख महेशचन्द्र आचार्यले आँपखेतीको राष्ट्रिय अवस्थाबारे प्रकाश पारे। मुलुकभरि ५२ हजार ९७५ हेक्टरमा आँपखेती रहेमध्ये मधेशमा ३४ हजार ७९८ हेक्टरमा रहेको तथ्याङ्क प्रस्तुत गरे। मधेशमा यसपाली तीन लाख ९५ हजार ९६२ मेट्रिकटन आँप उत्पादन भएको र यो मुलुकको कूल उत्पादनको ७० प्रतिशत रहेको आचार्यले उल्लेख गरे।
नेपाल सरकार कृषि विभाग, दातृसंस्था आइसीमोड, स्थानीय सामाजिक संस्था सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र आर ऐण्ड डीसहितका निकाय तथा संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
कार्यक्रममा दातृ निकाय आइसीमोडका कृषि उपनिर्देशक इजाबेला कोजेललले यहाँका स्थानीय तह र प्रदेश सरकारको यस दिशाको प्रयत्नमा आफ्नो उदात्त सहयोग रहने प्रतिबद्धता जनाए। कार्यक्रम कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा सम्पन्न भएको हो।
