अनशनरत नगर प्रमुख भट्टराईको जीवनरक्षा गर्न आग्रह

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा नगर प्रमुख भट्टराईको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्या समाधान गरी निजको जीवनरक्षा गर्न आयोगले सरकारसँग आग्रह गरेको उल्लेख छ।

जैविक विविधता र रैथाने संस्कृतिको संरक्षणका लागि आवश्यक नीति निर्माण गर्न पहलकदमी गर्नुपर्ने, बाँसको प्रवद्र्धन गर्नुपर्ने, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्नुपर्ने, गिट्टी क्रसर उद्योग मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने, खोटाङलाई बाँसको राजधानी घोषणा गर्नुपर्ने, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउनुपर्ने तथा बाँदर तथा अन्य जङ्गली जनावर नियन्त्रणका लागि नीति बनाउनुपर्नेलगायत माग राखी यही साउन ११ गतेदेखि नगर प्रमुख भट्टराई माइतीघरमा अनशन बसेको र उनको स्वास्थ्यावस्था गम्भीर बन्दै गएकोप्रति आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले उक्त अनशनस्थल माइतीघर तथा वीरअस्पताल पुगी अनुमगन गर्नुका साथै अनशनरत भट्टराई, स्वास्थमन्त्री प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरुसँग जानकारी लिएको छ। वार्ताबाटै समस्या समाधान गर्न नगर प्रमुख भट्टराईसँग सरकारका प्रतिनिधिहरुले अनौपचारिक रुपमा छलफल गरिरहेको जानकारी प्राप्त भएको आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *